राहदानी वितरण अनिश्चितकालका लागि बन्द

निरन्तर न्यूज
१९ पुष २०७९, मंगलवार १८:४५

काठमाडौं । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।

सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।

सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या हुँदा राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अबरूद्ध हुन गएको छ ।

नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।

कोरोनाभाइरस महामारीपछि राहदानी लिनेको भिड बढेको बताउँदै आएको विभागले सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरूस्त सेवा दिने निर्णय गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए । तर विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो ।

सेवाग्राही सेवा लिन रातिदेखि नै विभागमा लाइनमा बस्ने गरेका छन् । यसरी रातभर लाइन बसेर पालो नआउने तथा काम नहुने गरेको गुनासोका बीच सेवा प्रवाह नै बन्द गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*