युरोपेली क्लबको अफर नकार्दै रोनाल्डो पुगे साउदी

निरन्तर न्यूज
२० पुष २०७९, बुधबार ०९:१९

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूसँग युरोपेली क्लबको प्रस्ताव रहेपनि साउदी अरबको अल नासरसँग नै अनुबन्धित हुन चाहेको बताएका छन् । शुक्रबार फ्रि एजेन्टको रुपमा अल नासरसँग सम्झौता गरेका रोनाल्डोलाई मंगलबार राती क्लबले स्वागत गरेको थियो । रोनाल्डोको स्वागतका लागि क्लबले भव्य समारोह आयोजना गरेको थियो । झन्डै २५ हजार समर्थक अट्ने रंगशाला पूर्ण रुपमा भरिएको थियो भने रोनाल्डोले २० मिनेट समय मैदानमा बिताएका थिए । त्यसपछि उनले टोलीसँग प्रशिक्षण पनि गरे ।

३७ वर्षीय फरवार्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता तोडेपछि विश्वकप दौरान क्लबविहिन थिए । रोनाल्डोले आफू साउदीमा आउनु बाध्यता नभएर आफ्नो रोजाई रहेको संकेत गरे ।

‘यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो । मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ,’ रोनाल्डोले भने ।

‘मैले युरोपको ठूला क्लबका लागि खेलें । सम्भव भएको सबै सफलता हासिल गरिसकें । अब एसियामा नयाँ चुनौतीको सामना गर्न आएको छु,’ उनले भने ।

रोनाल्डोले विश्व फुटबलकै सबैभन्दा ठूलो सम्झौता गरेका हुन् । उनले सन् २०२५ सम्म लागु हुने सम्झौतामा प्रति वर्ष झन्डै २ सय मिलियन युरो पाउनेछन् । त्यसपछि उनी फुटबल दुतको रुपमा साउदीकै सम्झौतामा रहने बुझिएको छ ।

रोनाल्डोले आफ्नो सम्झौता विशिष्ट रहनुमा आफू विशिष्ट खेलाडी रहेको बताए । उनले साउदी लिग प्रतिस्पर्धात्मक रहेको र अल नासरलाई जित दिलाउन आतुर रहेको पनि बताए । ‘मलाई थाहा छ लिग निकै प्रतिस्पर्धात्मक छ । मैले धेरै खेल पनि हेरें । म बुधबार खेल्न चाहन्छु, तर त्यसको लागि प्रशिक्षकको निर्णय अन्तिम हुनेछ । म लगातार फुटबल खेल्न र जित्न तयार छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु