बागमतीमा डिजिटाइजेसन सम्पन्न भएपछि ब्लुबुक बोक्न नपर्ने

बागमती प्रदेशमा दर्ता भएको सवारी साधनको अब ब्लुबुक बोक्न नपर्ने भएको छ । सवारीको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम सम्पन्न भएपछि ब्लुबुक बोक्न नपर्ने बताइएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारी साधनको विद्युतीय अभिलेखीकरण भएको छ । यातायात व्यवस्था कार्यालयले हालसम्म झन्डै ८ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ । ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिए । यो महिनादेखि छुट्टै कर्मचारी राखेर कामलाई गति दिएको जानकारी दिँदै उनले एक वर्षमा सबै सक्ने योजनासहित काम भैरहेको बताए ।
एकान्तकुना कार्यालयमा तीन लाख सवारीका फाइल रहेका छन् । कार्यालयले फागुनदेखि यो काम सुरु गरेको हो । दुईपाङ्ग्रे सवारीको विद्युतीय अभिलेख राख्ने काम पनि तीव्र बनाइएको यातायात व्यवस्था कार्यालय गुर्जुधाराले जनाएको छ । गुर्जुधारा कार्यालयले ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेख गरिरहेको छ । हालसम्म गुर्जुधारामा दुईपाङ्ग्रे सवारीमा मात्र अभिलेख राख्ने काम भएको छ । बागमतीमा चितवन, हेटौँडा, एकान्तकुना र गुर्जुधारा कार्यालयबाट विद्युतीय अभिलेख राख्ने काम हुँदै आएको छ । अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए ।
विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारी अनलाइनमै उपलब्ध हुनेछ । कागजात बोकिरहन नपर्ने उनले बताए । एकीकृत अनलाइन डाटा उपलब्ध हुने तथा नियन्त्रण र नियमन अनलाइनबाटै उनले उनले बताए । लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्र बनाउन पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयले जनाएको छ । चारपाङ्ग्रे सवारीको फाइल सम्बन्धित कार्यालयमा रहेकाले हाल उक्त फाइल नै अभिलेख गर्ने काम भएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सवारीका ब्लुबुकलाई अनलाइन प्रणालीमार्फत क्युआर कोड राख्ने काम सुरु गरेको छ । ब्लुबुकमा हुने सवारी सम्बन्धी सबै विवरण क्युआरबाट हेर्न मिल्ने भएपछि ब्लुबुक साथमै लिएर हिँड्न नपर्ने भएको हो ।