टि२० लिग प्रकरणबारे छानबिन गर्न राखेपद्वारा छानबिन कार्यदल गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा परिषदका सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौमा भईरहेको नेपाल टि२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतिको बारेमा सार्वजनिक भएको बिषय प्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राजधानीमा ९ पुसबाट जारी नेपाल टि२० लिगको झन्डै ७० प्रतिशत खेल सकिदा विदेशी खेलाडीले श्रम स्वीकृति नलिएको, खेलाडीले पारिश्रमिक नपाएको र म्याच फिक्सिङ जस्ता विषयहरु उठेको छ ।










