उचित मूल्य नपाएको विरोधमा कुखुरा र अण्डासहित किसान सडकमा
झापा । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानहरूले सोही किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्।
झापाका किसानहरूले मंगलबार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको मुक्ति चोकमा अण्डा र जिउँदै कुखुरा फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्।
उत्पादित वस्तुको उचित बजार मूल्य नपाएको आक्रोशमा झापाका किसानहरूले ‘उत्पीडित किसानहरूको विरोध कार्यक्रम सफल गरौँ’ भन्दै २० कार्टुन अण्डा र एक हजार लेयर्स जातको कुखुरा राजमार्गमा फ्याँकेर विरोध जनाएका थिए।
हाल नेपाली बजारमा एउटा अण्डाको मूल्य १५ रुपैयाँ रहेको छ। किसानहरूले एउटा अण्डा उत्पादन गर्न ११.२० रुपैयाँ खर्च हुने बताएका छन् । तर, बिचौलियाले ८ रुपैयाँ नाफा माग्ने गरेकाले यहाँका किसानहरू व्यवसाय छाडेर पलायन हुने अवस्था सिर्जना भएको किसानको गुनासो छ ।
तीनै तहका सरकारले किसानहरूको मार्का र समस्याप्रति चासो नदेखाउँदा आन्दोलित बन्नु परेको विरोध कार्यक्रममा सहभागी किसानहरूले बताए।
किसानहरू सडकमा अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए। किसानहरूले सुँगुर र कुखुराको मासुले पनि उचित मूल्य नपाएको गुनासो छ। दूधमा पनि बिचौलियाले चलखेल गरेर उनीहरूले घाटा खेप्दै आएको छ।









