वाग्मती प्रदेशमा ५० लाखमाथिका योजनामात्रै माग गर्न मन्त्री श्रेष्ठको आग्रह

निरन्तर न्यूज
२ फाल्गुन २०७९, मंगलवार १८:२०

सिन्धुली । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले ‘कनिका छरेजस्तो’ बजेटले दिगो विकासको लक्ष्य प्राप्त नहुने भएकाले आगामी आर्थिक वर्षबाट प्रदेशले ५० लाखभन्दा माथिका योजनाको मात्रै काम गर्ने बताएका छन् ।

सिन्धुलीमाडीमा आइतबार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स-साना योजनाहरु स्थानीय सरकारबाटै गर्नुपर्नेमा जोड दिए । संघले समेत ५ लाखका योजना बाँड्ने गरेकोमा त्यसलाई अब सच्याउनु पर्ने भन्दै मन्त्री श्रेष्ठले वाग्मती प्रदेशमा ५० लाखमाथिका योजनामात्रै माग गर्न सरोकारवालाहरुलाई सुझाए । योजना छनौट समुदायको मागमा आधारित हुनुपर्नेमा पहुँच वा पार्टीका नेता, आसेपासेमुखी भएकाले त्यसलाई सच्याउन जरुरी रहेको उनको भनाइ थियो ।
संविधानसभाबाट संविधान निर्माण गर्न खलेको भूमिकाको ओज राख्नका लागि नेपाल समाजवादी पार्टीका केन्द्रका अध्यक्ष बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन मन्त्री श्रेष्ठले माग गरेका छन् । चिहानमा पुगेको संविधान निर्माणको कामलाई ब्युँताएर संविधानसभाबाट संविधान निर्माण गरी सफल भूमिका निर्वाह गरेकाले भट्टराई राष्ट्रपतिको सबैभन्दा योग्य उम्मेदवार भएको मन्त्री श्रेष्ठले दाबी गरे ।

चैतको पहिलो सातासम्ममा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकीकरण भइसक्ने उनले बताए । उनी दुई पार्टी एकीकरण कार्यदलका संयोजकसमेत हुन् ।

निर्वाचन प्रणालीलाई सुधार गरेर पूर्ण समानुपातिक बनाउनु पर्ने उनले बताए । वाग्मती प्रदेश प्रेस काउन्सिल बनाएर पत्रकारहरुको क्षमता अभिवृद्धि र सेवासुविधा बढाउने मन्त्री श्रेष्ठले आश्वासनसमेत दिए । कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*