नपाका पूर्वप्रमुख र प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

निरन्तर न्यूज
२१ चैत्र २०७९, मंगलवार १५:५४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध ५० लाख रुपैयाँ बिगोसहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्य पालिकाहरूमा भएको कामको डुप्लिकेसन गरी पञ्चपुरी नगरपालिकाले नमुना समाज सुर्खेतका नाममा रकम भुक्तानी गरेको ठहर सहित अख्तियारले तत्कालीन प्रमुख तथा कर्मचारीमाथि विशेष अदालतमा मुद्दा चलाएको हो ।

अख्तियारको अनुसन्धान अनुसार पालिका प्रमुख उपेन्द्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले नमुना समाज सुर्खेतसँग सम्झौता गरी लाखौं रकम हिनामिना भुक्तानी दिएको देखिएको छ । ती पालिकाहरूले बैठक र खरिद ऐनबिना नै रकम भुक्तानी दिएको अख्तियारको दाबी छ ।

जसअनुसार पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्र बहादुर थापा, पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, पञ्चपुरी नगरपालिका नगर कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा, पञ्चपुरी नगरपालिकाका लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जीएम भनिने लालबहादुर घर्ती मगर र नमुना समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध अख्तियारले ५० लाख बिगो दाबीसहितको मुद्दा दायर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*