प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण : मन्त्री श्रेष्ठ

निरन्तर न्यूज
२१ बैशाख २०८०, बिहीबार ११:१९

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेको  बताउनुभयो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रमका अवसरमा उहाँले पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा आफु उभिने बताउनु भएको छ ।

पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिदै पत्रकारिताको गुणस्तरिय बिकासमा बागमती प्रदेशले आफनो तर्फबाट योगदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘गुणस्तरिय पत्रकारिताको बिकासमा तपाईहरुले पनि आ आफनो ठाउँबाट योगदान गर्नु हुने अपेक्षा राख्दै बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आवाज विहिनहरुको आवाज उठाइरहने प्रेरणा तपाईहरुलाई पनि मिलिरहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’

‘भबिश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संबाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले आज प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन १९९३ मा घोषणा गरेपछि हरेक बर्ष मे ३ लाई बिश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइदै आइएको छ । यस अवसरमा म बागमती प्रदेश सरकारका तर्फबाट बागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस अवसरमा नेपालको संविधान २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक सय चार बर्षे राणा शासन, तीस बर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाई हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेको बताउनुभयो । उहाँले भन्नुभयो–‘स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी बिश्वस्त छौ । बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहन्छ, नियन्त्रण होइन । नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रबद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेका छन् ।’

श्रमजीवी पत्रकारको क्षमता बिकास गर्नसीप बिकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकताका साथ अगाडि बढाउने बागमती प्रदेश सरकारको नीति रहेको प्रष्ट पार्नु भयो । मन्त्रालयका सचिब धुर्ब गैडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सञ्चार रजिष्टार रेवति सापकोटाले पत्रकार र सञ्चार माध्यमको हक हितका लागि काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु