बायुसेवा निगमले २ वटा विमान खरिद गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरीद गर्न योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्ने कार्य योजना अघि बढाएको हो । यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको छ ।
“सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।”









