हेटौंडा–काठमाण्डौं रोप–वे सञ्चालन गर्ने तयारीमा छाैँ : मुख्यमन्त्री जम्मकट्टेल
हेटौंडा । राष्ट्र महत्वपूर्ण पारवहनकाे रुपमा रहेर केही बर्ष अगाडी देखि बन्द रहेको हेटौंडा–काठमाण्डौं रोप–वे सञ्चालन गर्नेगरी बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम मात्र नभएर निजि क्षेत्रसंगको सहकार्यमा रोप–वे पुन निर्माण समेत गरेर सञ्चालन गर्ने तयारी गरिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो ।
नीति तथा कार्यक्रममा मात्र नभएर अब बजेटमा समेत उल्लेख गरेर रोप–वे सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी बन्द अवस्थामा रहेको रोप–वेबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने गरी पुनर्निर्माण गरिने संक्षिप्त कुराकानीमा मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । सरकारले यो कामको जिम्मा लिएर भन्दा पनि निजिी क्षेत्रलाइ दिएर काम गर्न सहज हुने उहाँले बताउनुभयो ।
अबको यो रोप–वेमा एकैपटक धेरै व्यक्ति यात्रा गर्न सकिने र सामान पनि सहज रुपमा ओसार पसार गर्न सकिनेगरी तयारी थालिने उहाँले बताउनुभयो । सरकारको लगानी बिनानै निजि क्षेत्रसंग सहकार्य गरेर यो काम गर्न सकिने उहाँले बताउनुभयो ।









