हेटाैँडा उपमहानगरपालिकाद्धारा २ अर्व ६८ करोडको बजेट पास
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले १३ औं नगरसभाको दोस्रो वैठकबाट २ अर्व ६८ करोड ६० लाख दश हजार आठ सयको बजेट पास गरेको छ । यस अघि हेटौंडा उपमहानरगपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारको विभिन्न शीर्षकका थप हुने रकम सहित शनिबार बसेको नगरसभाको बैठकबाट सर्वसम्मत रुपमा बजेट पास गरको हो । यो सँगै बैठकले हेटौडा बजार क्षेत्रको २५-२५ मिटर सडक विस्तार गर्ने निर्णय सर्वसम्मतरुपमा पारित गरेको छ ।
वैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिहरुले ताली बजाएर सर्वसम्मतरुपमा बजार क्षेत्रलाई फराकिलो बनाउने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनु भयो । सडक विस्तारको विषयमा जिल्लाका दलहरुबीच मत भिन्नता भइरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेको हो । डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ तर अब बजार क्षेत्रको बाटो फराकिलो हुन्छ प्रवक्ता न्यौपानेले बताउनु भयो ।
बैठकले आर्थिक विधेयक २०८०,विनियोजन विधेयक २०८०,न्यायिक समितिबाट २०७९/८० मा भएका कामको सम्पादनलाई पास गरेको प्रवक्ता न्यौपानेले बताउनु भयो । नगर सुन्दर बनाउने योजनाका साथ बजार क्षेत्रका सडकलाई अब विस्तार गर्ने निर्णय भएकोे हो । यस्तै बैठकले उपमहानगर क्षेत्रभित्र सुर्तीजन्य पर्दाथ बिक्रीबितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका लागी ऐन बनाएर कार्यविधि ल्याई लागु गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनु भयो ।










