हेटौंडा उपमहानगरद्वारा सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण अभियान सुरु

निरन्तर न्यूज
३ श्रावण २०८०, बुधबार १५:३३

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सुर्तिजन्य पदार्य बिक्री नियन्त्रण अभियान सुरु गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले मंगलबारबाट सुर्तिजन्य पदार्थ बिक्री नियन्त्रण अनुगमन सुरु गरेको हो ।

अनुगमन समितिले हेटौंडा–२ नगरपालिका रोडमा रहेका १४ वटा पसल व्यवसायहरु अनुगमन गरेको थियो । उपमहानगरसँगै रहेको राजदेबी भोजनालय तथा खाजा घरमा अनुगमन गर्दा सुर्तिजन्य पदार्थ बिक्री गरिहेको फेला परेपछि होटललाई २ हजार रुपियाँ जरीवाना गरेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले साउन १ गतेबाट सुर्तिजन्य पदार्थको प्रतिबन्धका लागि माइकिङ गरेसँगै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन थालेको छ ।

उपमहानगरले नेपाल सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनको आधारमा निर्देशिका २०७७ कार्यान्वनमा ल्याएको छ । सोही निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्न थालेको उपमहानगरपालिकाले जानकारी दिएको हो । उपमहानगरको १३ औं नगरसभाले नगरक्षेत्रमा साउन १ गतेबाट सुर्तिजन्य पदार्थमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरेको छ ।

नियमन सार्वजनिकस्थलहरू, विद्यालय क्षेत्र , सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, चौकी रहेका क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय उपमहानगरले गरेको छ ।

उपमहानगरको निर्देशन नमान्ने जोकोहीलाई २ हजारदेखि २५ हजारसम्म जरिवाना हुने र निषेधित ठाउँबाहेकका होटेल तथा रेस्टुरेन्टहरूमा छुट्टै ध्रुमपान गर्ने ठाउँ (स्मोकिङ्ग जोन)को व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ ।

यसअघि उपमहानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिका संयोजक राजेश बानियाँको अध्यक्षातामा मंगलबार भएको बैठकले अनुगमनलाई तिब्रता दिने निर्णय गरेको थियो । उपप्रमुख बानियाँले उपमहानगरले गरेको निर्णय कार्यान्वयनकामा लैजाने बताए । उनले जो कसैले सुर्तिजन्य पदार्य बिक्री गरी गलत गरेको पाइएमा कारवाही गरिने बताए ।

पहिलो चरणमा विद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थल र धार्मिक स्थाल क्षेत्रलाई बिशेष निगरानी गरिने र अन्य क्षेत्रलाई विस्तारै नियमनको दायरामा ल्याउने उपमहनागरपालिकाको योजना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*