प्रेस युनियन मकवानपुरको हेटौंडामा बिरोध प्रदर्शन
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै हेटौंडामा ब्यानर सहित बिरोध प्रदर्शन गरेका छन् ।
उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरको अगुवाईमा मकवानपुरका सञ्चारकर्मीहरु विरोध र्यालीमा सहभागि भएका हुन् ।
मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियत भएको प्रेस युनियन ठम्याइ रहेको छ ।
हेटौंडाको सीमाचोकबाट सुरु भएको बिरोध याली बुद्धचोक हुँदै उद्योग वाणिज्य संघ चोकमा पुगेर पुनः सीमाचोकमा फर्किएर सभामा परिणत भएको थियो । प्रदर्शन पश्चात गरिएको सभामा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, मध्यमान्चल संयोजक राममणी दाहाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश उपाध्यक्ष नानीमैयाँ कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।










