हेटौंडा उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनको लागि भवन बनाउन ८० लाख दिने

निरन्तर न्यूज
६ भाद्र २०८०, बुधबार १३:४४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ ।

मंगलबार हेटौँडा उपमहानगरपालिका र अस्पताल व्यवस्थापन तथा विकास समितिबिच भवन निर्माणको लागि ८० लाख रुपैयाँ दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा भएको सहमतीमा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाइँ र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमती अनुसार उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागी आवस्यक भवन निर्माण गर्न ३ किस्तामा ८० लाख रुपैयाँ अस्पताललाई दिने सम्झौता भएको छ । सम्झौतापछि मेयर लामाले नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताललाई भवन निर्माणका लागी आवस्यक रकम उपलब्ध गराउँने सहमती भएको बताईन् ।

‘हेटौँडामै सुविधा सम्पन्न स्वास्थ्य सेवा दिनसके उपचारका लागि स्थानीयले बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पताको सेवा विस्तारमा सहयोग बढाएका हौं ।’ मेयर लामाले भनिन् । उनले हेटौँडा उपमहानगर अस्पताल सुधारको लागि सहयोग गर्न तयार रहेको पनि बताइन् ।

हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रसाइँले ३ किस्ता मार्फत प्राप्त हुने रकमबाट ठेक्का मार्फत आउँदो चैतसम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु