मकवानपुरमा पहिलो पटक ठेकी बनाउने दार पकेट क्षेत्र घोषणा

निरन्तर न्यूज
२२ भाद्र २०८०, शुक्रबार १६:३९

मकवानपुर । दारको ठेकी र मकवानपुर कुनै समय देशमै चिनिन्थ्यो । पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ भने दार प्रजातीको रुखको संरक्षण नहुदा हराउदै गएको छ ।

कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोभ भएको छ । यो ठेकी बन्ने काठ चाही के को हो भनेर सोध्यो भने यो दार हो भन्ने हामी मध्ये धेरैलाई थाहा छैन । मकवानपुर जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ ।

यसै तथ्यलाई मध्यनजर गरेर डिभिजन वन कार्यालय मकवानपुरले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । मकवानपुरको चिनारी दार र काठको ठेकीको संरक्षण गर्दै पहिचान कायम राख्न मकवानपुर जिल्लामै पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीको सहयोग तथा दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूह भीमफेदी गाउँपालिका १ को ब्यबस्थापनमा दार पकेट क्षेत्र घोषणा गरिएको हो । विहीबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो ।

भीमफेदी १ स्थित दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको जमिनमा दारका बिरुवा रोप्ने तथा संरक्षण समेत गर्ने लक्ष्यले पकेट क्षेत्र घोषणा गरिएको हो । सामुदायिक वनको करिब २ हेक्टर क्षेत्रफल जमिनमा १ हजार ४ सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएकोले पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । लोपोन्मुख दारको संरक्षणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए ।

दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरमा दारको वृक्षारोपण तथा संरक्षण कार्यलाई डिभिजन वन कार्यालयले निरन्तरता दिदै आएको छ । डिभिजन वनको सक्रियतामा बकैया गाउँपालिका–१२ चपकीमा समेत १ हजार दारको विरुवा रोपिएको थियो । सहिखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*