बिद्यालयस्तरसम्म विपद सुरक्षा संस्कृति विकास गरिनेः आन्तरिक मन्त्री श्रेष्ठ

निरन्तर न्यूज
२७ जेष्ठ २०८१, आईतवार १०:४७

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताएका छन । मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश स्तरीय विपद प्रतिकार्यको कृत्रिम अभ्यास कार्यक्रमलाई हेटौँडाको औद्योगिक क्षेत्रमा सम्बोधन गर्दै उहाँले विपद न्यूनीकरणका लागि जिल्लास्तरबाटै विपद सुरक्षा संस्कृतिको विकास गरिने जानकारी दिए ।

आर्थिक वर्ष ८१–८२ मा प्रदेशका १३ जिल्लाका १३ विद्यालय छनोट गरेर विद्यालय स्तरमा विद्यार्थीहरूलाई सुरक्षा संस्कृतिको बारेमा अध्यापन गराउने तयारी भएको उनको भनाई छ । विपद न्यूनीकरण र व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँ, टोल र वडा वडा सम्म विपद स्वयम्सेवक परिचालन गरेको बताए । गत आवमा प्रदेशका ११ पालिकामा स्वयंसेवक परिचालन गरिएकाले यस आवको बजेटमा पनि सो कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ ।

जनस्तरबाटै परिचालित हुने स्वयमसेवकबाट विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सकिने बताउँदै मन्त्री श्रेष्ठले रैथाने स्तरमा रहेको ज्ञान, सीप र अनुभावलाई प्रयोग गरेर विपद न्यूनीकरणमा लाग्न आग्रह गरे ।

प्रदेशमा विपद न्यूनीकरणका लागि विपद सामाग्री खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिर्दे उनले मकवानपुरको हेटौँडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद सामाग्री भण्डारण गरिएको जानकारी दिए । विपदको तीन चरण रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको चरण मध्य पूर्व तयारी राम्रोसँग गर्न सकिए विपदबाट क्षति कम हुने विश्वास व्यक्त गरे ।

विपद पूर्व तयारीको विषयमा आम नागरिकलाई पनि जानकारी दिन आवश्यक रहेको उनको भनाई छ । मानविय गतिविधिले प्राकृतिक विपद बढेको बताउँदै उहाँले विकासको नाममा विनाश धेरै भएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले विपद जोखिम न्यूनीकरण गर्न सबैको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले विपदबाट १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएकाले सबैलाई पूर्व तयारीका साथ रहन आग्रह गरे ।

मध्य पृतनापति प्रदीपजंग केसीले प्राकृतिक विपदलाइ रोक्न नसकिएपनि न्यूनीकरण गर्न सकिने बताउँदै स्थानीय र जनप्रतिनिधिको भूमिका अझै महत्वपूर्ण हुने बताए । उनले विपदमा सेना सधैँ अग्रभागमा रहने स्पष्ट पारे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, रेडक्रस, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*