हेटौडाकाे वडा नम्बर ७ लाई बालमैत्री घोषणा गरिदै
हेटाैँडा। हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएकाे छ । आगामी १ भाद्र शनिबार औपचारिक रूपमा वडालाई बालमैत्री घोषणा गरिने मंगलबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ बालमैत्री नगर वडा घोषणाकाे चरणमा रहेकाेले वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए ।
बालमैत्री वडा घोषणाकाे लागि वडाध्यक्ष गौतमको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेकाे बताइएकाे छ ।
गौतमका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९.७३ प्रतिशतसम्म हासिल गरेकाे छ ।
वडामा १८ वर्षमुनिका १,८९८ बालबालिका रहेका छन्। १० वटा बाल समूह र एक वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । जसमा २५० जना बालबालिका आबद्ध छन्। विभिन्न संरचनागत समितिहरूमा समेत २६२ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।
वडाले बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। दुई विद्यालयमा बाल विकास केन्द्र सञ्चालनमा छन् भने विद्यालयहरूमा छात्र-छात्राका लागि अलग-अलग शौचालय, सेनेटरी प्याड वितरण, र खेलकुद सामग्री वितरण गरिएको छ।
वडाध्यक्ष गौतमले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदारको रूपमा विकास गर्न प्रयत्नशील रहेको बताए। उनले बालमैत्री वडा घोषणापछि पनि यसको दिगोपनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
बालमैत्री वडा घोषणा कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्ने गौतमले जानकारी दिए । उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गनबाट प्रभातफेरी सहित वडा परिक्रमा गरिने र त्यसपछि औपचारिक कार्यक्रम हुने बताइएकाे बताए ।
हेटौडाकाे ७ नम्बर वडा नगरकाे तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा हुने छ । यसअघि हेटौंडाकाे ८ र २ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे छ ।







