चितवनको घुमाउनेमा बस दुर्घटना हुँदा १५ जना घाइते, चितवनमा उपचार हुँदै

निरन्तर न्यूज
९ भाद्र २०८१, आईतवार ०८:२३

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।

बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा घाइते १५ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौं पठाइएको उहाँले बताउनुभयो । अहिले नारायणगढ मुग्लिन सडकखण्ड दुइतर्फीनै सुचारु छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*