हेटाैँडामा विपद जोखिम न्यूनीकरण सम्बन्धी छलफल

निरन्तर न्यूज
२७ भाद्र २०८१, बिहीबार २०:०९

हेटौंडा । हेटाैँडामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम भएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएकाे कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश विपदको दृष्टिकोणले जोखिमपूर्ण रहेको बताउँदै प्रविधिको प्रयोगले जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार प्रविधिको प्रयोग गरि जोखिम न्यूनीकरणका लागि अघि बढिरहेको बताउँदै कार्यक्रमले यसमा थप पृष्ठपोषण दिएको धारणा राखे । कार्यक्रममा बागमती प्रदेशसभा अन्तरगतको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिले बागमती प्रदेशमा विपदबारे अध्ययन गरि प्रतिवेदन बुझाएको बताउँदै यस्तो प्रविधिको उपयोगले विपद न्यूनिकरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सिन्धुपाल्चोकमा भएका विपदका घटनाको विश्लेषणमा सिन्स्पेक्टिभले काम गरेकोले यससंगको सहकार्यले प्रदेशमा विपद न्यूनिकरण गर्न सकिने बताए ।

बागमती प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी कार्यक्रममा सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले कम्पनीले सिन्धुपाल्चोकमा विपदबारे गरेको अध्ययन र यसबाट प्राप्त तथ्यांक, बागमती प्रदेश सरकारसंग विपद न्यूनीकरणका लागि गर्न सकिने सहकार्य लगायतको बारेमा प्रस्तुति दिएका थिए । उनले प्रदेश सरकारसंग तथ्यांक आदानप्रदानका लागि सिन्स्पेक्टिभले आफ्नो भू-उपग्रहको सदुपयोगका लागि सहकार्य गर्न चाहेको बताए ।

सिन्स्पेक्टिभ क्षेत्रीय बिक्री प्रवन्धक कपिल मल्लिकले कार्यक्रममा उठेका जिज्ञासाबारे सहजिकरण गरेका थिए । कार्यक्रममा सिन्स्पेक्टिभको भू-उपग्रहबाट प्राप्त तथ्यांकबाट पहिरो र हिमताल विस्फोटन जोखिम, सुख्खा क्षेत्रको अध्ययन गरि आगलागीको जोखिम जस्ता विपदबारे जानकारी प्राप्त गरि पूर्व तयारी गर्न सकिने जनाइएको छ ।

भू-उपग्रह प्रविधिमार्फत विपद न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको जापानस्थित सिन्स्पेक्टिभ कम्पनीसंगको सहकार्यमा कार्यक्रम भएको हो । सिन्स्पेक्टिभले सिंगापुर, काजकिस्तान, जापान, फिलिपिन्स, भियतनाममा सशुल्क सेवा दिंदै आएको छ भने बागमती प्रदेश सरकारसंग समझदारी भएमा सहयोगको रूपमा काम गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*