जलवायु परिवर्तनको असरले स्थानीय स्तरमा बढि प्रभाव पार्याे : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय स्तरमा बढि प्रभाव पारेकाे बताए ।
सोमबार हेटौंडामा आयोजित जलवायु कार्यको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा परम्परागत सीप, ज्ञान, खाद्यान्नलगायत जनताकाे जीवनशैलीमा नै प्रभाव पारेका कारण हामी सचेत रहनुपर्ने बताए ।
मुख्यमनीले वातावरण प्रदूषण हुँदा सबैलाई प्रभाव पार्ने बताउँदै वातावरण प्रभाव मूल्याङ्कन गर्दा ध्यान दिनुपर्ने र जनताले पनि अब यस विषयमा न्यायको मुद्दा सशक्त बनाइनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढिरहेको बताईन् । उनले नीतिगत रूपमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सार्वजनिक सम्पदा जोगाउन नसके पहिचान पनि मेटिँदै जाने उल्लेख गरिन् । त्यस्तै, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सुविधाका नाममा पृथ्वीलाई मानव समुदायले विनाश गर्दै बताए । उनले जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको बताएका थिए ।
मकवानपुर महिला समूहका अध्यक्ष कल्पना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममासङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्नेलगायत विषयमा बृहत् छलफल भएको थियो । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।







