अफ्रिकन स्वाइन फिभरबाट मकवानपुरमा १सय ९० बङ्गुर मरे

निरन्तर न्यूज
८ माघ २०८१, मंगलवार २१:०४

हेटौँडा । मकवानपुरमा अफ्रिकन स्वाइन फिभरको प्रकोप फैलिएको छ । मङ्सिर दोस्रो साताबाट मकवानपुरको हेटौँडा र भिमफेदीमा स्वाइन फिभरबाट १९० बङ्गुर मरेको पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ । काठमाडौँमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको नमुनामा यहाँको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए ।

मकवानपुरको हेटौँडा–१, ११, १७ नं. वडा र भिमफेदी गाउँपालिका वडा नं. १ मा व्यावसायिक रूपमा पालिका बङ्गुर अफ्रिकन स्वाइन फिभरको कारण मरेका हुन । हेटौँडा–१ जरुवा टोलमा व्यवसायीक बङ्गुर पालन गरिरहेका आधुनिक कृषि पशुपन्छी तथा माछा फर्मका सञ्चालक सूर्य अधिकारीको फर्मा ९० वटा, हेटौँडा–११ मा ३ वटा र हेटौँडा–१७ मा ७ वटा र भिमफेदी गाउँपालिका वडा नं. १ मा रहेको निरु कृषि तथा पशुपन्छी फर्ममा ९० वटा बङ्गुर मरिसकेको पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक डा.विजय पौडेलले जानकारी दिए ।

अफ्रिकन स्वाइन फिभरबाट गोठै रित्तिएपछि अधिकारी अहिले चिन्तामा छन । एक दशकको मिहेनत गरेर आजको अवस्थामा आइपुगेका उनी अब के गर्ने भन्ने सोचमा परेका छन । उनी जस्तै अन्य बङ्गुर पालक किसान पनि चिन्तामा परेका थिए ।

मधेस प्रदेश हुँदै मकवानपुर भित्रिने नाका हेटौँडाको रातमाटे, बागमतीको राई गाउँ र चितवनसँग जोडिएको लोथर क्षेत्रमा कडाइ गर्नुपर्नेमा कार्यालय प्रमुख ठाकुरले जोड दिए । उनले होटलको खानाका कारणबाट पनि रोग सर्ने सम्भावना हुने बताए । जिल्लामा अफ्रिकन स्वाइन फिभरको प्रकोप न्यूनीकरणका लागि बङ्गुर पालक किसानसँग सचेतनामूलक अन्तरक्रिया, किसानका लागि जैविक सुरक्षा कायम गर्न चुन, फिनेल र स्प्रे र जिल्लाको विभिन्न स्थानमा सचेतनामूलक बोड पनि राखिएको उनको भनाई छ ।

अफ्रिकन स्वाइन फीवरले मकवानपुरमा प्रत्येक वर्ष बङ्गुर पालक किसानलाई पिरोल्ने गरेको छ । कार्यालयले कृषकहरूलाई यो समय उक्त सङ्क्रमणबाट आफ्ना जनावर बचाउन उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर धमाधम मर्न थालेपछि किसान चिन्तामा परेका हुन । अफ्रिकन स्वाइन फिभर लागेमा बङ्गुरमा उच्च ज्वरो आउने लगायतको लक्षण देखा पर्ने र एक दुई दिनभित्र मर्ने गरेको जनाइएको छ । अफ्रिकन स्वाइन फिभर फैलिएमा एकै पटक धेरै बङ्गुर मर्ने गरेकाले सतर्कता अपनाउन पशु कार्यालयले बङ्गुर पालक कृषकलाई आग्रह गरेको छ ।

अफ्रिकन स्वाइन फिभर फैलिन नदिन मरेका बङ्गुरलाई सावधानीपूर्वक जमिनमा गाड्न, एक ठाउँबाट अर्को ठाउँमा बङ्गुरको पाठा तत्काल नलैजान, फर्ममा स्प्रे गरेर निसङ्क्रमण बनाउन पशु सेवा कार्यालय मकवानपुरका कार्यालय प्रमुख डा. ठाकुरले आग्रह गरे । उनले रोगबाट मरेका बङ्गुर काटेर नखान पनि सुझाव दिए । यो रोग मान्छेमा सर्दैन । तर, मरेका बङ्गुर खाँदा रोग घर घरका बङ्गुर, सुँगुरमा पुग्ने खतरा रहने गरेको उनको भनाइ छ ।

जिल्लामा करिब पाँच सय बङ्गुर पालक किसान रहेको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । अफ्रिकन स्वाइन फिभर नेपालमा पहिलो पटक २०७९ जेठमा पुष्टि भएको थियो । बागमती प्रदेशमा एक हजार बढी सुँगुर बङ्गुर अफ्रिकन स्वाइन फिभरका कारण मरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*