देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गर्न पर्छ : अध्यक्ष ढकाल

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार २२:०४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्। कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लगानीसम्बन्धी एकीकृत कानून बनाई लागू गर्न पनि सरकारलाई अनुरोध गरेका हुन्।

अध्यक्ष ढकालले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, वन, वातावरण र भूमिसम्बन्धी लगानीसँग सम्बन्धित कानूनहरूलाई एकीकृत गरी एकिकृत लगानी संहिता बनाउनुपर्ने धारणा राखे। उनले विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य हुनुपर्नेमा पनि जोड दिए।

लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अपरिहार्य रहेको बताउँदै अध्यक्ष ढकालले राजनीतिक अस्थिरताका बाबजुद नीतिगत स्थिरता कायम गरेर धेरै देशले विकास गरेको उदाहरण प्रस्तुत गरे। उनले सबै राजनीतिक दलहरूले कम्तीमा आगामी १० वर्षसम्म नीतिगत परिवर्तन नगर्ने सहमति गर्नुपर्ने र कानूनको अपव्याख्या गर्ने तथा एकअर्कासँग बाझिने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

आगामी बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेटलाई नयाँ चरणको आर्थिक सुधारको प्रस्थानबिन्दु बनाउनुपर्ने विचार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु