आत्मनिर्भर अर्थतन्त्र आवश्यक : मुख्यमन्त्री लामा

निरन्तर न्यूज
१० जेष्ठ २०८२, शुक्रबार ०८:२८

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आत्मनिर्भर अर्थतन्त्र आवश्यक भएको बताएका छन्।

राजस्व सुधार अध्ययन समितिले तयार पारेकाे प्रतिवेदन बुझदै मुख्यमन्त्री लामाले नीतिगत सुधारबाट मात्र दिगो विकास हुने बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित कार्यक्रममा बाेल्दै मुख्यमन्त्री लामाले अध्ययन प्रतिवेदन अध्ययनमा मात्र सीमित हुन नहुने भन्दै केस्रा केस्रा केलाएर प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । गुरु याेजना बनाएर प्रदेशकाे याेजना कार्यान्वयन गर्न पर्ने मुख्यमन्त्रीले बताए ।

प्रदेश सरकारले बनाएको राजस्व सुधार अध्ययन समितिका संयोजक किशोर जंग कार्कीकाे टिमले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई मुख्यमन्त्री लामाको राेहवरमा प्रतिवेदन बुझाएको छ ।

मन्त्रायबाट प्रदेशको राजस्व वृद्धि र नीतिगत सुधारका लागि अध्ययन गर्न तीन महिना अघि कार्कीकाे संयाेकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले नीतिगत सुधारमा भएका कानुनी समस्या समाधान गरी आजैबाट कामकाे थालनी गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री काफ्लेले भने, ‘समस्या र सामाजिक व्यवहारिक कठिनाइसँग जुधेर समस्यलाई पार  लगाउनुपर्ने आजकाे आवश्यकता हाे’ । उनले आफ्नै खुट्टामा अडिएर प्रदेश सरकार चलाउन सकिन्छ भनेर देखाउन जरुरी रहेकाे बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रतिवेदनले दिएका सुझावलाई आगामी आर्थिक वर्षको बजेट बनाउँदा समेट्ने भन्दै प्रतिवेशन प्रदेशको आर्थिक र नीतिगत सुधारमा महत्वपूर्ण दस्ताबेजमा रुपमा रहने बताए ।

समितिका संयोजक कार्कीले प्रतिवेदनमा समेटिएका विषय बस्तुका बारेमा जानकारी गराएपश्चात्  प्रतिवेदनले दिएका सुझावले प्रदेशको राजस्व र आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु