विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेश प्रमुखद्वारा शुभकामना

निरन्तर न्यूज
२३ जेष्ठ २०८२, बिहीबार १२:४७

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ । यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण न्युनीकरणःहाम्रो दायित्व” भन्ने रहेको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणाम निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ सन्देशमा भनिएकाे छ ।

प्रदेश प्रमुख देवकोटाले जैविक विविधतामा संकट निम्त्याएको प्रति गम्भिर हुँदै प्लाष्टिकलगायतको प्रदुषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नतर्फ सचेत रहनु पर्ने सन्देश दिनुभएको छ । ‘पृथ्वी हाम्रो साझा घर’ उहाँले सन्देशमा भन्नुभएको छ ‘कुनैपनि देश वा क्षेत्रको वातावरणमा आएको विनाशले अर्को देश र क्षेत्रलाई पनि असर पार्दछ, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ,हामी सचेत हुनुपर्छ ।’

वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको उल्लेख गर्नुहुदै देवकोटाले भन्नुभएको छ, पृथ्वीको कोमलताप्रति खेलवाड गरेर आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका छौ ।’ मानव-प्रकृतिसंगको सम्बन्धलाई केवल उपयोगको हैसियतमा होइन, सह-अस्तित्वको भावनाबाट हेर्नु पर्ने उहाँले सन्देशमा उल्लख गर्नु भएको छ । प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न उहाँले आग्रह गर्नु भएको छ । वातावरणीय सचेतनाका लागि कालापत्थरमा मन्त्री परिषद बैठक, हालै सम्पन्न “सगरमाथा संवाद” जस्ता वातावरण संरक्षणमा संसारको ध्यान आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरेर नेपाल सरकारले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि पहलहरु गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*