मकवानपुरबाट प्रधानमन्त्रीलाई चिउरीसहितकाे पेरुङ्गाे उपहार
हेटाैँडा । चेपाङ समुदायको संस्कृति, जीविकोपार्जन र परम्परासँग गहिरो सम्बन्ध राख्ने ‘चिउरी’ र बाँसकाे निगालोबाट बुनेको ‘पेरुङ्गाे ’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोशेली स्वरुप प्रदान गरिएको छ ।
बहु उपयोगी चिउरीलाई भोर्लाको पातमा बेरेर पेरुङोमा राखेर प्रधानमन्त्रीलाई पठाइएको मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार बताउनुभयो । मल्लले पठाउनु भएको कोसेली बागमती प्रदेश सभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई दिनुभएको थियो ।
चेपाङ समुदायको पहिचान बोकेको परम्परागत सामग्री र खाद्य बस्तुलाई राष्ट्रिय तहमा पुराउनका लागि प्रधानमन्त्रीलाई कोसेली पठाइएको अध्यक्ष मल्लले बताउनुभयो ।
कोसेली ग्रहण गर्दै प्रधानमन्त्री ओलीले रैथाने परम्परागत वस्तुको संरक्षण र रोजगारी सिर्जनामा विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत बालीहरूको सम्भावना प्रचुर रहेको भन्दै तिनीहरूको व्यावसायिक उपयोगमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न सकिने बताउनु भएको प्रदेश सभा सदस्य पाठकले जानकारी दिनुभयो । उक्त अवसरमा वन क्षेत्रको दिगो व्यवस्थापनका सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले चासो राख्नुभएको थियो ।
प्रधानमन्त्रीले वन स्रोतको संरक्षण र समुदायसँगको सहकार्यमा आधारित व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो ।
यस अघिकाे माओवादी नेतृत्वकाे बागमती प्रदेश सरकारले चमेराे, चिउरी र चेपाङ अभियान सन्चलान समेत गरेकाे थियाे ।










