अपराध गतिविधि नियन्त्रण हुन्छ – डिआइजी पौडेल
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटाैँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अरुण पौडेलले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भर्खरै बागमती प्रदेश प्रहरी प्रमुख जिम्मेवारी सम्हालेका डिआइजी पाैडेेलले प्रदेशका १० जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै आफ्नो कार्यकाल अपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा रहने बताएका छन् ।‘मैले १० जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएको छु ‘शान्ति सुरक्षामा कुनै कम्परमाईज हुन्न’–उनले भने । उनले पत्रकारको सुरक्षालाई समेत प्रहरीले विशेष ख्याल राख्ने बताएका छन् ।
सुरक्षाका लागि ठोस रणनीतिका साथ आफु अघि बढ्ने बताउँदै आफ्नो कार्यकालमा आपराधिक गतिविधिलाई न्यूनिकरणमा हरसम्भव प्रयत्न गर्ने दावि गरे । शान्ति सुरक्षा कायम गर्न नागरिकको भुमिका समेत महत्वपूर्ण हुने भन्दै उनले सहयोगका लागि आग्रह गरेका छन्।कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी भीम किरण बोगटी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगर, पूर्व अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक बच्चुराम फूयाल लगायत चारकर्मीहरुको उपस्थिती रहेको थियो।










