मकवानपुरको इन्द्रसरोवरले पर्यटनलाई प्राथमिकता दिने नीति कार्यक्रम सार्वजनिक
हेटौंडा। इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड ७२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १६औँ गाउँसभामा अध्यक्ष देवकृष्ण पुडासैनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नयाँ आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
पर्यटन क्षेत्रको सम्भावनालाई आधार बनाउँदै आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
भौतिक पूर्वाधार विकासलाई गुणस्तरीय र दिगो बनाउने, प्रविधिमैत्री र व्यवहारिक शिक्षाको पहुँच विस्तार गर्ने, सबै नागरिकका लागि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने कार्यक्रममार्फत आर्थिक विकासमा टेवा पुर्याउने योजना ल्याइएको छ भने सेवा प्रवाहमा पारदर्शिता कायम गर्दै सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ।
समाजमा विद्यमान विभेद र असमानताको अन्त्य गरी समन्यायिक विकास सुनिश्चित गर्ने, विकासको प्रतिफल न्यायोचित ढंगले वितरण गर्ने र विपद् व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष पुडासैनीले जानकारी दिनुभयो।










