मकवानपुरको राक्सिराङको बजेट ६३ करोड भन्दा बढी

निरन्तर न्यूज
११ असार २०८२, बुधबार १५:३२

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

यो बजेट अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो। राक्सिराङको चालू आर्थिक वर्षमा कुल बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ थियो।

राक्सिराङको मंगलबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष बनस्तम थिङले पेस गरेको बजेटमा चालू तथा पुँजीगत खर्च समेट्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतमार्फत जुटाइने आम्दानीको विवरणसहित सार्वजनिक गरिएको हो। राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ।

राक्सिराङ गाउँपालिकाले बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान १० करोड ५८ लाख २२ हजार रुपैयाँ, आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ रहेको छ।

राक्सिराङको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चमा वृद्धि गरिएको देखिन्छ भने चालू खर्चको तुलनामामा पुँजीगत खर्च निकै घटाइएको छ। संघीय र प्रदेश सरकारको अनुदानमा समेत वृद्धि भएको छ।

पत्रु खाना (जंक फुड)को बिक्री वितरणमा रोक
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पालिकाभित्र पत्रु खाना (जंक फुड)को बिक्री वितरणमा नियन्त्रण गर्ने नीतिलाई निरन्तरता दिएको छ। चालू आर्थिक वर्षमा पनि गाउँपालिकाले पालिकाभित्र पत्रु खाना बिक्री-वितरणमा रोक लगाउने जनाएको थियो।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रैथाने खाद्य वस्तुको उत्पादन र प्रयोगमा जोड दिँदै पत्रु खानालाई क्रमशः नियन्त्रण गरी अन्ततः प्रतिबन्ध लगाउने नीति लिएको बताए।

उनले नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै गाउँपालिकाले ‘एक टोल एक उत्पादन’को लक्ष्य लिइएको जानकारी दिए। गाँजाको वैधानिक प्रयोगसम्बन्धी बहस र अनुसन्धानलाई अगाडि बढाउन र नीति निर्माण तहको ध्यानाकर्षण गराउन कार्यक्रम नै सञ्चालन गरिने उनले बताए।

दुर्गम तथा विकट भौगोलिक अवस्थाका कारण हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम दिने नीति गाउँपालिकाले लिएको अध्यक्ष मल्लको भनाइ थियो। यसैगरी, गाउँपालिकाका ५ वर्षमुनिका बालबालिका र आमाको स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम र बाल स्वप्न परियोजना सञ्चालन गरिने उल्लेख गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*