जनस्वास्थ्य कार्यालय मकवानपुरकाे नसर्ने रोगको विरुद्ध अभियान

हेटौँडा । मकवानपुरमा नसर्ने रोग बढ्दै गएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा मधुमेह, उच्च रक्तचाप, दमखोकी, मुटु रोग र मिर्गौलासम्बन्धी रोगका बिरामी दिनानुदिन बढ्दो क्रममा छ । वातावरणीय प्रदूषण, जीवनशैलीमा आएको परिवर्तन, तनाव आदिका कारण नसर्ने रोग बढ्दो क्रममा छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरको पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार आव २०७६-७७ मा एकहजार ६५४ मधुमेहका बिरामी रहेकोमा २०८०-०८१ मा बढेर नौ हजार २०६ पुगेको छ । जिल्लामा उच्च रक्तचापको बिरामी आव २०७६-७७ मा पाँच हजार ३५९ रहेकोमा २०८०-८१ मा बढेर १६ हजार २७ पुगेको छ । त्यस्तै दमखोकीका बिरामी आव २०७६-७७ मा दुई हजार १५३ रहेकोमा आव २०८०-८१ मा तीन हजार ४८१ पुगेको हो ।
पछिल्लो समय मुटुरोग र मिगौलासम्बन्धी रोगका बिरामी पनि बढ्दै गए पनि हेटौँडा अस्पतालले सबै बिरामीको विवरण उपलब्ध नगराउँदा यकिन तथ्याङ्क आउन नसकेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। उनले नियमित व्यायाम, शारीरिक सक्रियता, स्वस्थ आहार व्यवहार, धूमपान तथा सुर्तीजन्य पदार्थ र मदिराको लतबाट टाढा रहने, नुनको सेवन कम गर्ने, चिल्लो कम मात्रामा खाने, फलफूल तथा सागसब्जीको सेवन बढाउन सुझाव दिए।
नेपालमा सन् २०१० को तथ्याङ्क अनुसार ५१ प्रतिशत, सन् २०१४ मा ६० प्रतिशत, सन् २०१६ मा ६६ प्रतिशत र सन् २०१९ मा ७१ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । जसमध्य ३० प्रतिशतमा मुटु रोग रहेको छ भने जम्मा जनसङ्ख्याको ८ प्रतिशत सवारी दुर्घटनामा परेर मर्ने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसै गरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रूपमा देखिएको छ ।
यसैगरी, हिँड्ने गरौँ साँझ र बिहान, नसर्ने रोगको विरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ जनस्वास्थ्य कार्यालय मकवानपुरले सचेतनामूलक र्याली गरेको छ । बिहीबार बिहान जनस्वास्थ्य कार्यालयबाट सुरु भएको र्याली हेटौँडाको सानोपोखरा, मनकामना चोक, उद्योग वाणिज्य सङ्घ, सिमाचोक हुँदै पुनः जनस्वास्थ्य कार्यालयमा आएर समापन भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका डा.अनुपविक्रम बिसीले नसर्ने रोगको बारेमा सहजीकरण गरेका थिए । नसर्ने रोगबाट बच्ने उपायहरू अन्तर्गत मेरो ९ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता भन्ने प्रतिविद्धतामा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले हस्ताक्षर गरेका थिए ।
र्यालीमा स्वास्थ्य मन्त्रालय, निर्देशनालय, मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान, स्थानीय तहका स्वास्थ्य प्रतिनिधि र नागरिक समाजको उपस्थिति थियो । जनस्वास्थ्य कार्यालयले नसर्ने रोग बारे सचेतना फैलाउनका लागि साइकल र्याली र निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम गरेको थियो ।