विद्यार्थीलाई दिवा खाजासँगै कुखुराको अन्डा वितरण

हेटौँडा । पोषणका लागि मकवानपुरको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजासँगै कुखुराको अन्डा वितरण गरिएको छ । पशु सेवा कार्यालय मकवानपुरले कुखुराको अण्डा र मासुको परिकार स्वास्थ्य जीवनको आधार भन्ने मूल नाराका साथ पशुपन्छी तथा मत्स्यजन्य पदार्थको प्रवद्र्धन कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अण्डा वितरण गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाको वाराही आधारभूत विद्यालय, बालबोध माध्यमिक विद्यालय हटिया, राक्सिराङ गाउँपालिकाको प्रजा जागृत माध्यमिक विद्यालय र मनहरी गाउँपालिकाको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा सँगै अण्डा समावेश गर्न अण्डा वितरण गरिएको छ । जिल्लाको बकैया गाउँपालिका र भिमफेदी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि अण्डा वितरण गरिने पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा सँगै पौष्टिक तत्वका लागि एक सातालाई पुग्नेगरि अण्डा उपलब्ध गरिएको छ । “पोषणको महत्त्वपूर्ण प्रोटिनको स्रोत अण्डा हो, साना बालबालिकाको मस्तिष्क र शारीरिक वृद्धि विकास होस भनेर विद्यालयमा अण्डा वितरण गरेका हौँ,”–कार्यालय प्रमुख ठाकुरले भने । गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । यसमा कार्बोहाइड्रेट न्यून मात्रामा पाइन्छ तर रेसा (डाइटरी फाइबर) हुँदैन । एउटा अण्डाले लगभग ७५ किलोक्यारोली शक्ति दिन्छ ।
अण्डामा भिटामिन र लवण (मिनरल) भरिपूर्ण मात्रामा पाइन्छ । यसलाई ‘प्राकृतिक मल्टिभिटामिन’ पनि भनिन्छ । यसमा भिटामिन–सी बाहेकका अन्य हामीलाई चाहिने सबै किसिमका भिटामिन पाइन्छन् । यो कुनै पनि वनस्पतिजन्य खाद्यवस्तुमा नपाइने भिटामिन बी–१२ को पनि राम्रो स्रोत हो । अण्डालाई लवणहरू खास गरी हड्डी बन्न चाहिने क्याल्सियम र फस्फोरस एवं आइरन, जिन्क, सेलेनियम आदिको असल स्रोतको रूपमा लिइन्छ ।