हेटौँडा उपमहानगर भित्र एसईईमा ५८.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
हेटौँडा । २०८१ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागमती प्रदेशकाे राजधानी रहेकाे हेटौँडाकाे हेटाैँडा उपमहानगरपालिकाले ५८.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) गराउन सफल भएकाे छ ।
नगरबाट परीक्षामा सहभागी भएका कुल ३ हजार ३ सय ११ बिद्यार्थी मध्ये २ हजार ४५ जना अर्थात् ५८.१९ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । एसईईमा हेटौँडाका ४ वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।
हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल (९० जना), हेटौँडा–६ स्थित सुनगाभा इंग्लिस बोर्डिङ स्कूल (२१ जना), हेटौँडा–११ स्थित जेम्स स्कूल (१८ जना) र हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदन (१८ जना) ले शतप्रतिशत नतीजा हासिल गर्न सफल भएको हो ।
हेटौँडा उपमहानगरमा २८ वटा सामुदायिक, २८ वटा संस्थागत र एउटा खुला विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिकतर्फ परीक्षामा सहभागी २ हजार १ सय १५ विद्यार्थी मध्ये १ हजार ६९ जना (५०.५४ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै संस्थागततर्फ १ हजार १ सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ सय ६९ जना (८६.३६ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयतर्फ आधुनिक राष्ट्रिय माविबाट परीक्षामा सहभागी भएका ३ सय ९९ जना विद्यार्थी मध्ये २ सय ७५ जना (६८.९२ प्रतिशत), भुटनदेवी माविबाट २ सय ४४ मध्ये १ सय ५६ जना (६३.९८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै बालज्योति माविबाट १ सय ३ जना विद्यार्थी सहभागी भएका मध्ये ७७ जना (७४.७६ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् भने प्रगति माविबाट १ सय १९ जना विद्यार्थी मध्ये ९६ जना (८०.६७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । जनप्रिय माविबाट १ सय ३५ मध्ये ८८ जना (६५.१९ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा महेन्द्र माविबाट १ सय ४४ मध्ये १७ जना (११.८१ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यस्तै सिद्धार्थ माविबाट १ सय ४१ मध्ये ९४ जना (६६.६७ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुँदा निर्मल माविमा ९९ मध्ये २३ जना (२३.२३ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।











