जलवायु परिवर्तन र यसको असरबारे छलफल
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तनका कारण मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरूको उत्सर्जन बढेसँगै पृथ्वीको सतहको तापक्रम वृद्धि हुँदै गएको छ । जसले वातावरण, पारिस्थितिक प्रणाली, कृषि, जल स्रोत, मानव स्वास्थ्य तथा सम्पूर्ण जीवनचक्रमा गम्भीर असर पारिरहेको बताए । उनले भने –‘जुन गर्मी हिजो असहज लाग्दैनथ्यो, आज साह्रै गाह्रो भइरहेको छ।
मौसमले आफ्नो ताल छाड्न थालेको छ—वर्षा बेलामा नहुने, नहुने बेलामा झन् डुबाउने। कहिले सुख्खा, कहिले बाढी। यो सबै जलवायु परिवर्तनका लक्षण हुन्।’ जलवायु परिवर्तनका कारण समस्या यति भयावह छ, तर समाधान पनि छ—वन बचाउन सकिन्छ, हरियाली फर्काउन सकिन्छ। बिजुली मोटरसाइकल चढ्न सकिन्छ, कम इन्धन जलाउने बानी बसाल्न सकिन्छ। खेतीमा जैविक तरिका अपनाउन सकिने मन्त्री सिल्वालले बताए ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब केदार बरालले जलवायु परिवर्तन र यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासहरु र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । नेपालमा र बागमती प्रदेशको यस मन्त्रालयले जलवायु परिवर्तनको असर घटाउन नीतिगत रूपमा र आफ्ना मातहतका कार्यालय मार्फत थुप्रै कदम चालेको सचिब बरालले बताए । बिभीन्न योजनाबाट गाउँगाउँसम्म जलवायु सचेतना फैलाइएको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका वन अधिकृत राधिका शर्माले नेपालमा जलवायु परिवर्तनले पारेका प्रभावहरु र बागमती प्रदेशमा जलवायु जन्य प्रकोपको अवस्था, जोखिम र चुनौतीहरुका बारेमा प्रस्तुतीकरण गरेकी थिइन । मन्त्रालयका महासाखाका प्रमुख शिब सापकोटाले कार्बन बित्त र यसको सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले मन्तब्य व्यक्त गरेका थिए ।










