वकैयाको बजेट ९१ करोड ७२ लाख ५० हजार
हेटौँडा । पूर्वी मकवानपुरमा रहेको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमवार एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तुत गरेको बजेट चालु आवको भन्दा एक करोड ८७ लाख ४९ हजार कम हो ।
बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार ६६२ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपैया रहने प्रक्षेपण गरिएको छ ।
विनियोजित बजेट मध्ये पूँजीगत खर्च तर्फ २८ करोड ६ लाख ९१ हजार, चालु तर्फ ६३ करोड ६५ लाख ५९ हजार बजेट बिनियोजन गरिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजार सहित जम्मा ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ ।
पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीयतह घोषणा गर्न ७५ लाख, चिस्याकेन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख तथा कार्यपालिका सदस्यहरुलाई ८ लाखको दरले ४८ लाख सहित ५ करोड २८ लाख बजेट बिनियोजन गरिएको छ । कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिक ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्ड स्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । पालिकाले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।









