सीपयुक्त शिक्षक उत्पादन कार्यक्रममा जुट्दै ‘हेटाैँडा स्कुल अफ म्यानेजमेन्ट’

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार १२:१०

हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सीपयुक्त शिक्षक उत्पादन कार्यक्रम सुरु गर्ने भएको छ । नेपालमा शिक्षकको अभाव भइरहेको वर्तमान सन्दर्भमा म्यानेजमेन्टले यस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

‘विशेष कार्यक्रममार्फत् शिक्षा संकायमा विद्यार्थीलाई निःशुल्क अध्यापनगराउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । म्यानेजमेन्टको नेतृत्वमा नवोदय शिशु सदन र नवोदय इनोभेशन सेन्टरको सहकार्यमा कक्षा ११ र १२ मा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । यसका लागि म्यानेजमेन्टले सम्पूर्ण नेतृत्व गर्नेछ भने नवोदय शिशु सदनले स्कुल ल्याबको भूमिका निर्वाह गर्नेछ । नवोदय इनोभेशनले प्रशिक्षार्थी शिक्षकहरूलाई शैक्षिक परामर्श तथा मार्गदर्शन प्रदान गर्ने बताइएको छ ।

कार्यक्रमअन्तर्गत् अंग्रेजी, नेपाली, विज्ञान र गणित विषयमा कुल ३० जना विद्यार्थीलाई अध्यापन गराइने योजना रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीले जानकारी दिए । हालसम्म १२ जना विद्यार्थीले यसका लागि भर्ना फारम भरिसकेका छन् । कक्षा सञ्चालन श्रावण ११ गतेदेखि सुरु हुनेछ ।

प्रिन्सिपल जोशीका अनुसार बिहान ४ घण्टाको शैक्षिक कार्यक्रममा दैनिक दुई विषयको अध्ययन हुनेछ । हरेक शुक्रबार पुस्तक परिचर्चा, शिक्षा संवाद जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट विद्यार्थीमा भाषा सीप, आलोचनात्मक प्रश्न सोध्ने क्षमता र शिक्षण रुचि विकास हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले कोर्ष बाहेक हप्ताको दुई दिन विशेषज्ञ शिक्षकबाट परामर्श पाउनेछन् ।

उक्त समयमा विद्यार्थीलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए । नियमित रूपमा कक्षामा उपस्थित हुने विद्यार्थीलाई प्रतिमहिना एक हजार रुपैयाँ पकेट खर्च पनि प्रदान गरिनेछ ।

प्रशिक्षार्थी विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाउन प्रत्येक हप्ता दुई वा तीन दिन तालिम, टिचिङ बुट क्याम्प, कार्यशाला र प्रशिक्षण जस्ता गतिविधिहरू सञ्चालन हुनेछन् । यसका साथै विद्यार्थीको आवश्यकता र क्षमताका आधारमा उपयुक्त रोजगारीको समेत व्यवस्था गरिने बताइएको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ३९ जना विद्यार्थीलाई मेडिकल तयारी कक्षामा पनि निःशुल्क अध्यापन गराइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*