सन्चारिका समूह मकवानपुरकाे ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ मा साम्बालाई सम्मान

निरन्तर न्यूज
७ श्रावण २०८२, मंगलवार ११:३३

हेटौंडा  । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरण बहादुर जोशीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गर्नका लागि नगद प्रायोजन गर्ने भएका छन् ।

संचालक जोशीले यही साउन १७ गते सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा सहभागी हुन आउने साम्बालाई सम्मान गर्नका लागि नगद ५० हजार रुपैयाँ प्रायोजन गर्ने भएका हुन् । संचालक जोशीले आफु सँधैं महिला सशत्तिकरणको पक्षमा रहेको बताउँदै सञ्चारिका समुह मकवापुरलाई पहिलो पटक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘पहिलो पटक महिला पत्रकारले सहयोग मागेको छ । म सँधै महिलाहरुलाई सम्मान गर्दछु ,’ उनले भने, ‘महिला सशक्तिकरणमा मेरो सँधै साथ रहनेछ ।’ आफुले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमको लागि आर्थिक मात्र नभई अन्य तरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानका लागि नगद प्रायोजन गर्ने जोशीलाई सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष निशा गुरुङले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् ।

कार्यक्रमका लागि प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी र प्रेस चौतारी मकवानपुरकी उपाध्यक्ष प्रतिक्षा न्यौपाने सहयोग गरेका छन् । संचारिका समूह नेपाल सञ्चार क्षेत्रमा कार्यरत महिलाहरुको साझा संस्था हो । २०५२ सालमा स्थापना भएको सञ्चारिका समूहले विशेष रुपमा महिला पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।

सञ्चार क्षेत्रमा महिलाको क्षमता अभिबृद्धि लैङ्गिक समानता, मानव अधिकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी विषयमा प्रशिक्षण, अनुसन्धान, वकालत तथा अन्य गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*