भीमफेदी सुमो दुर्घटना अपडेट : ४ जना मृतकको नाम खुल्यो
हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जना पुरूष र एक महिला रहेका छन् । जसमध्ये ४ जना मृतककाे नाम खुलेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारत बिहार पटनाका ४२ बर्षीय रजनिस कुमार, भारत बिहार बेगुसराईका ५० बर्षीय अरबिन्द कुमार, हेटौडा-२ कान्तिराजपथका २९ बर्षीय निखिल अग्रवाल, हेटौडा-४ कमलडाँडाकी करिब ४० बर्षीय सबिता लम्साल मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान नखुलेका ३५/३६ बर्षीय पुरुष र अन्दाजी ४० बर्षीय पुरूष रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते सुमो चालक हेटौडा-४ कर्रा चोकका ४५ बर्षीय गणेश थापा र हेटौडा-४ कमलडाँडाका १२ बर्षीय अभ्यास लम्साल र रौतहट चन्द्रपुर-२ की २१ वर्षीया रिचा चौधरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आइतबार साँझ भीमफेदी-६ जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।











