वीरगञ्जमा मंगलबार बिहानसम्म ‘कर्फ्यू’
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज मिति २०८२/०९/२१ गते साँझ ६:०० बजेदेखि भोलि २०८२/०९/२२ गते बिहान ६:०० बजेसम्म कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू लागू हुने क्षेत्रअन्तर्गत पूर्वमा आइसीपी रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको इलाका रहेको छ। आदेशको अवधिमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन तथा हिँडडुल गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यूको समयमा सुरक्षा निकायले अत्यावश्यक अवस्थामा बाहेक कसैलाई पनि गोली हान्न सक्ने अधिकार प्रयोग गर्न सक्ने जनाइएको छ। साथै, अत्यावश्यक सेवा, एम्बुलेन्स, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य सेवा, मानव अधिकार तथा कूटनीतिक निकायका सवारीसाधनलाई भने परिचयपत्रको आधारमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण झडप भएको थियाे ।
धनुषाको घटनालाई लिएर उत्पन्न धार्मिक विवादले उग्र रूप लिएपछि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका मुख्य र संवेदनशील क्षेत्रमा भेला, जुलुस र प्रदर्शनमा रोक लगाएको थियो । तर केहीले निषेधित क्षेत्र तोडेर प्रदर्शन जारी राखेपछि मकालु चोक क्षेत्र युद्धमैदान जस्तै बनेको छ। प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्दा आक्रोशित भिडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको हो ।
तनाव बढ्दै गएपछि वीरगञ्जको जनजीवन पूर्ण रूपमा ठप्प भएको छ भने बजार क्षेत्रमा सन्त्रास फैलिएको छ । प्रशासनले पूर्वमा बसपार्कदेखि पश्चिममा सिर्सिया पुलसम्म र उत्तरमा पावर हाउसदेखि दक्षिणमा शङ्कराचार्य गेटसम्मको विशाल क्षेत्रलाई निषेधित घोषणा गरेको भए तापनि विभिन्न गल्लीहरूबाट निस्किएका प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरिरहेका छन् । स्थिति थप भयावह हुन नदिन स्थानीय प्रशासनले वीरगञ्जमा सशस्त्र प्रहरीसहितको थप सुरक्षा बल परिचालन गरेको छ भने सुरक्षाकर्मीहरूलाई ‘हाइ–अलर्ट’ मा समेत राखिएको छ । प्रशासनले स्थिति सामान्य बनाउन सर्वपक्षीय छलफलको प्रयास जारी राखेको छ ।











