हेटाैँडाकाे प्रगति माविकाे स्वर्ण जयन्ती महाेत्सव मनाइँदै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यामिक विद्यालयले स्थापनाकाे ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव मनाउने भएकाे छ ।
स्वर्ण महाेत्सवलाई विविध कार्यक्रमसहित मनाउन लागिएकाे आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे । विद्यालष व्यवस्थापन समितिकाे अगुवाइमा आज पुष २६ गते शनिवारबाट माघ ९ गतेसम्म मनाउन लागिएकाे विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिए । विसं २०२२ सालमा स्थापना भएकाे विद्यालयकाे उद्घाटन माघ ६ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनीयाले गर्ने् कार्यक्रम तय भएकाे प्रधानाध्यापक पराजुलीले जानकारी दिए ।
विद्यालयले आयोजना गर्ने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय शिक्षक सम्मेलन, विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप, विद्यार्थी सहभागितामा र्याली, सरसफाइ कार्यक्रम, विद्यालय गान सार्वजनिकरण, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र मानव आश्रममा सहयोगलगायत रहेको प्रधानाध्यापक पराजुलीले बताए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले आफ्नो भौतिक तथा शैक्षिक विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक सहभागिता विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।
साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लाछिानेले स्वर्ण जयन्तीका क्रममा सञ्चालन हुने सबै गतिविधि उदेश्यपूर्ण रहेको उल्लेख गरे । उनका अनुसार शैक्षिक, सिर्जनात्मक र व्यक्तित्व विकासमा टेवा पुग्ने कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य विद्यालयको रहेको छ ।
कार्यक्रमलाई सफल बनाउन अभिभावक, शिक्षक, विद्यार्र्थी, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा लिइएको उनले बताए । स्थानीय निकायबाट सहयाेग पाइने अपेक्षा लिइएपनि अझै त्यसकाे सुनिश्चितता नभएकाे लामीछानेले बताए ।
कार्यक्रमको अन्तिम दिन माघ ९ गते सरस्वती पूजा, स्वर्ण जयन्ती स्तम्भ अनावरण, साँस्कृतिक कार्यक्रम, सम्मान तथा समापन कार्यक्रमसँगै स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु भगवान राना, नवराज काेइराला शिक्षक ज्याेति न्याैपानेलगायतकाे सहभागिता रहेकाे थियाे ।
सोहि दिन विद्यालयमा विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय राधादेवी शाहको प्रतिमा अनावरण गरिने विद्यालयले जनाएको छ । कार्यक्रम सम्पनन्न गर्नकाे करिब २२ लाख रुपैया अनुमान गरिएकाे छ ।










