हेटाैँडा २ काे सिद्धार्थ माविले स्वर्ण महोत्सव मनाउँदै
हेटौँडा। हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउँदै छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि साताव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वर्ण महोत्सवको तयारीका बारेमा मङ्गलबार विद्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी मूल आयोजक समितिका संयोजक एवं हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले शैक्षिक विकास र गुणस्तरीय शिक्षा सिद्धार्थ माविको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
स्वर्ण महोत्सव मनाउने अवस्थामा पुग्नु गौरवको विषय भएको भन्दै उहाँले भन्नुभयो भव्य भवन बनेर मात्र नहुने र गुणस्तरीय शिक्षाले प्राथमिकता पाउनुपर्छ ।
उहाँले विद्यालयको भौतिक पूर्वाधारमा सुधारसँगै शिक्षामा प्रविधिको प्रयोगमा जोड दिने गरी काम सुरु गरिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले स्वर्ण महोत्सवका अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम साताव्यापी रुपमा आयोजना गरिने बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गर्दै आएको भन्दै विद्यालयले प्रविधिलाई अधिकतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
महाेत्सवलाई सम्पन्न गर्न यस अघि नै बिभिन्न समितिहरु बनाएर कार्य गरिरहेकाे छ ।
महोत्सवको तयारी स्वरूप माघ २ गते विद्यालय परिसर सरसफाइ तथा रङ्गरोगन गरिनेछ। माघ ३ गते बिहान ७ बजे रक्तदान कार्यक्रम तथा बिहान १०ः३० बजेदेखि शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने बिद्यालयका प्रधानध्यापक परमानन्द सरोज कर्णले बताए ।
माघ ४ गते बिहान १० बजेदेखि झाँकी र्यालीसहित महोत्सवको औपचारिक उद्घाटन गरिने कार्यक्रम छ। सोही दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका लोकार्पण, विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान, शैक्षिक तथा अन्य प्रदर्शनीहरू सञ्चालन गरिनेछ। उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
माघ ५ गते बिहान ७ः३० बजे पूर्व विद्यार्थी भेला तथा बिहान १० बजेदेखि विद्यालयका विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिनेछ। यस दिन बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहने बिद्यालयका शिक्षक गणेश प्रसाद हुमागाईले बताए ।
त्यसैगरी माघ ६ गते बिहान ११ बजेदेखि नगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरू आयोजना गरिनेछ, जसमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथि रहनेछन्।
महोत्सवमा माघ ७ गते बिहान ११ बजेदेखि विद्यालयको बृहत् सांस्कृतिक कार्यक्रम तथा शैक्षिक एवं खेलकुद पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ।
यसैगरी कार्यक्रमको समापन माघ ८ गते हुने छ । यस कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा रहेको बिद्यालयका स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा वडा अध्यक्ष महर्जनले बताए ।
सिद्धार्थ माध्यमिक विद्यालय विक्रम सम्वत् २०३२ साल माघ ८ गते सिद्धार्थ निम्न माध्यमिक विद्यालयका रूपमा जगन्नाथ पराजुली र डा वैद्यनाथ भट्टज्यूको घरमा स्थापना भई सञ्चालनमा आएको हो। विद्यालयका पहिलो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय गोपालदास श्रेष्ठ तथा पहिलो प्रधानाध्यापक स्वर्गीय श्यामप्रसाद पराजुली रहनुभएको थियो।
विद्यालयले २०४० सालमा माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त गरी २०४३ सालदेखि प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासमा स्वर्गीय ईश्वरचन्द्र अग्रवाल र रुद्रप्रसाद पाठकले निजी खर्चमा कक्षा कोठा निर्माण गरी महत्वपूर्ण योगदान पुर्याएका थिए।
नेपालायको नेपथ्य समूहले वरिष्ठ गायक अमृत गुरुङमार्फत वार्षिक च्यारिटी शो आयोजना गरी संकलित रकम विद्यालयलाई प्रदान गर्दै शैक्षिक तथा भौतिक उन्नयनमा सहयोग पुर्याउँदै आएको विद्यालयले जनाएको छ।
विक्रम सम्वत् २०६४ मा जिल्लाकै एकमात्र खुला विद्यालय (कक्षा १०) सञ्चालनको अवसर प्राप्त गरेको यस विद्यालयले २०६५ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ सञ्चालनको स्वीकृति पाएको थियो। हाल विद्यालयमा कानुन, व्यवस्थापन र शिक्षा समूहमा विहानी सत्रमा पठनपाठन हुँदै आएको छ।
पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा सदस्यद्वय सुरज बर्तौला, ईन्द्र रिजाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, विद्यालयका सहायक प्रधानाध्यापकद्वय रामशरण अधिकारी र खेमराज लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र ढकाललगायतको सहभागिता रहेको थियो ।










