अहिले गरिखाने शिक्षा प्रणाली आवश्यक छ : मुख्यमन्त्री बाँनीया
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अहिले गरिखाने शिक्षा प्रणाली आवश्यक रहेकाे बताए । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गरिबको हित हेर्ने र गर्ने शासन व्यवस्था भएको बताएका हुन् ।
मुख्यमन्त्रीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माणममा लाग्नु पर्ने भन्दै न्यायमुखी, आयमुखी, विकासमुखी अनि गाउँमुखी हुनुपर्छ र यो हाम्रो मूल सिद्धान्त भएको बताउनुभयो । उहाँले नयाँ पुस्ताले खोजेको र रोजेको शिक्षा आवश्यक भएको भन्दै यो सूचना र प्रविधिको युग हो । नयाँ प्रविधिको प्रयोग भ्रम सिर्जनासमेत गरेकोले सत्य र भ्रम के हो छुट्याउने जनशिक्त उत्पादन आवश्यक भएको बताए ।
जीवनमा खोजेको कुरा एकै पटक प्राप्त हुँदैन, दशकौ लाग्छ । मुख्यमन्त्री बानियाँले भने, सकारात्मक र समृद्धिको बाटोमा हिड्न समय लाग्छ । समय कठिन पनि हुन सक्छ । उहाँले विद्यालयलाई प्राविधिक शिक्षामा जोड दिन आग्रह गरे ।
शिक्षक कर्मचारी, राजनीतिककर्मी कोहीले पनि भ्रम सिर्जना गर्ने कार्य गर्नु हुँदैन, जेन्जी आन्दोलनमा शिक्षक नै चोरीमा संलग्न भएको पाइयो यसले अब नैतिक शिक्षाको खाँचो देखिएको भन्दै उहाँले अब बागमती प्रदेश सरकारले नैतिक शिक्षालाई प्राथमिकता दिने बताए । नैतिकता हराउँदै गयो, कमजोर भयो यसैले नैतिक शिक्षा आवश्यक भएको उहाँको स्पष्ट पारे ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कन्चन चन्द्र बादेले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको भन्दै सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । बागमती प्रदेश सभा सदस्यद्वय एका लाल श्रेष्ठ र भारती पाठकले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षा आवश्यक भएको बताए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिरालाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलगायतलाई सम्मान, स्वर्ण महोत्सव स्तम्भको अनावरण र स्मारिका विमोचन गरिएको थियो ।
विद्यालयले स्वर्ण महोत्सव माघ ८ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदै छ ।












