बागमतीको श्रम, रोजगार तथा यातायात क्षेत्रमा शून्य सहनशीलता नीति लागूः मन्त्री जयराम थापा
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन विभिन्न सुधारात्मक कदमहरू अघि बढाइएको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार जनताको प्रत्यक्ष सरोकारका विषयमा गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पारे।
मन्त्री थापाका अनुसार मन्त्रालयअन्तर्गतका सबै कार्यालयहरूमा सेवा प्रवाहका क्रममा हुने अनियमितता र बेथितिविरुद्ध ‘शून्य सहनशीलता’ नीति कडाइका साथ लागू गरिएको छ। उनले विचौलियालाई कार्यालयमा प्रवेश निषेध गर्ने निर्देशन दिइएको उल्लेख गर्दै यसबाट सेवाग्राहीले सहज, छिटोछरितो र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे।
यातायात क्षेत्र सुधारतर्फ पनि मन्त्रालयले विशेष ध्यान दिएको उनले बताए। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नीतिगत, संरचनागत तथा कार्यात्मक सुधारहरू अघि बढाइएको उनले जानकारी दिए। सवारी दर्ता, चालक अनुमतिपत्रलगायतका सेवाहरू क्रमशः डिजिटल माध्यममार्फत सरल र पारदर्शी बनाउने काम भइरहेको मन्त्री थापाको भनाइ छ।
सेवा प्रवाहमा देखिएका ढिलासुस्ती, अनियमितता तथा गुनासोप्रति मन्त्रालय गम्भीर रहेको जनाउँदै उनले सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई जिम्मेवार, जवाफदेही र सेवामुखी बन्न स्पष्ट निर्देशन दिइएको बताए। “जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा सुधार गर्नु हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने।
श्रम तथा रोजगार क्षेत्रतर्फ मन्त्रालयले पछिल्लो समय सीपमूलक तालिम र उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिएको छ। युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका तालिम कार्यक्रममार्फत स्वरोजगारतर्फ उन्मुख गराउने प्रयास भइरहेको मन्त्री थापाले बताए। साथै वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक पहलहरू पनि अघि बढाइएको उनले जानकारी दिए।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रमिकको हकहित संरक्षण गर्ने, सूचनामूलक सेवा विस्तार गर्ने तथा परामर्श प्रणाली सुदृढ बनाउने काम भइरहेको उनले उल्लेख गरे। आगामी दिनमा रोजगारीका अवसर विस्तार, श्रमिक अधिकार संरक्षण, सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन तथा व्यवस्थित यातायात प्रणाली विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गरे।
मन्त्रालय वा मातहतका कार्यालयहरूसँग सम्बन्धित कुनै सूचना वा गुनासो भए मन्त्रालयको इमेल वा टेलिफोनमार्फत जानकारी गराउन उनले आग्रह गरेका छन्। अन्त्यमा उनले मन्त्रालयका गतिविधिहरू जनतामाझ पु¥याउन सहयोग गर्ने सञ्चारमाध्यम तथा सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे।









