निर्माणधिन सिमेण्ट उद्योग बाढिले बगायो

निरन्तर न्यूज
३० असार २०७६, सोमबार १०:५३

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ को ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातको वर्षा पछि आएको बाढीले बगाएको छ ।

ताल्तीमा बग्ने खोलालाई नियन्त्रण गरी निर्माण थालिएको ह्वासिन सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेको र दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् ।

खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली उक्त स्थानमा पुग्न सकेको छैन । ताल्ती पुग्ने बाटाको वीचमा मलेखु नजिकै बाढीको अवरोध आएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले ले जनाएको छ ।

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन । रु १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*