रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

१ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।
हेटौँडा युवा अभियान, मकवानपुर र जिल्ला ट्राफिक कार्यलयको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला ट्राफिक कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरि विष्णु ढकालले दैनिक जसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने बिश्वास व्यक्त गरे । विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउँने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग गर्दा सुरक्षित रहन मद्दत पुर्याउँने बताए ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमले ट्राफिक प्रहरीलाई सहयोग पुग्ने बताए । जान्दा जान्दै पनि कति समयमा दुर्घटना निम्तिने गरेको बताउँदै प्राचार्य श्रेष्ठले यस्ता कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।
विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो ।
हेटौँडा युवा अभियानका अध्यक्ष शशि शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठ लगायत विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलयका काशी थापा र इन्द्र पन्तले सहजिकरण गरेका थिए ।