त्रिशुली दुर्घटना अपडेटः बस निकालियो, २४ यात्रु अझै बेपत्ता
धादिङ । सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा २४ यात्रु बेपत्ता भएका छन् । दुर्घटनाग्रस्त बसलाई त्रिशूलीबाट निकालिएको पनि बेपत्ता २४ यात्रुहरु फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
बाहिर निकालिएको बसभित्र कोही पनि यात्रु नभेटिएको प्रहरीले जनाएको हो । उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने १६ जनाको उद्धार गरिएको छ । बैदवारका अनुसार २४ जना अझै बेपत्ता छन् ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख७४६९ नम्बरको बस विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा अजय दास र विजय कुर्मी रहेका छन् भने बाँकीको परिचय खुलेको छैन । थप दुई जनामा एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको छ ।
नदीमा पानीको मात्रा बढी र धमिलो भएकाले बेपत्ताको खोजी कार्यमा अत्यधिक कठिनाईपूर्ण भएको उद्धारमा सहभागी प्रहरी अधिकारीहरुले जनाएका छन् ।
बसमा जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल चालक, प्रमोद चौधरीसहचालक र ऋषी उप्रेती कन्टेक्टर सवार थिए । प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् । घाइते मध्ये सात जनाको गजुरी अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको छ भने अन्यलाई काठमाडौँ रिफर गरिएको छ ।
दुर्घटना भएको बसमा सर्लाही मलङवाबाट ४०जना, हरिपुरबाट २ जना गरी ४२ जनाको चलानी काटी प्यासेन्जर बोकेर हिडेको जिल्ला प्रहरी कार्यालय धादिङले प्रेसित गरेको विज्ञप्तीमा उल्लेख छ । प्रहरीका अनुसार बस चालक, सहचालक र कन्डक्टर गरी जम्मा ४५ जना सवार रहेको बुझिएको छ ।
उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
यी हुन् दुर्घटनाग्रस्त बसमा सवार यात्रुहरु-
बिष्णु गाउँपालिकाका खुश रंजन
शिवनगरका मोहम्मद मतलुङ
अगर्वाका नविन कुमार महतो
लक्ष्मीपुरका मनिष रायसहित २ जना
बेलहीका राकेश राउत
भारतका मज्जफरपुरका आशिष कुमार सहित २ जना
गम्हरियाका दिनेश ठाकुर
भारत पर्सा मोडका धीरेन्द्र शर्मा
औरहीका रबि कुमारसहित ३ जना
भारतका अररियाका दिलिप दास सहित ३ जना
मलंगवाका भुपेन्द्र कुमार
त्रिभुवनगरका राजनारायण गुप्ता सहित ४ जना
मलंगवाका संजिव चौधरी
मलंगवाका अरिबन्द सिंह (वकिल)
मलंगवाका अनिष राय
भारतका लरकवा रामबाबु यादव सहित ३ जना
भारतका कुवारीका अजय ठाकुर सहित २ जना
मलंगवाका रोहित मण्डल
मलंगवाका शमिम
मलंगवाका सुशिल श्रीवास्तव र अनिल
गणेशियाका भाग्य नारायण महतो सहित ३ जना
हरिपुरका योगेन्द्र चौधरी ९९८४५७०९२१९० र अमित लामा
साझापाेष्टबाट साभार










