रवि लामिछाने हेटौँडा इजलासमा: उच्च अदालतले आजै आदेश दिनसक्ने
हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण सम्बन्धी मुद्दाका पक्ष-विपक्षमा परेका निवेदनमा अहिले पाटन उच्च अदालतको हेटौँडा इजलासमा बहस भैरहेको छ । बहस सुन्नका लागि चर्चित सञ्चारकर्मी रवि लामिछाने आफ्ना सहयोगीसहित हेटौँडा पुगेका छन् ।
हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेकाअनुसार न्यायधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासमा बिहानदेखि निरन्तर बहस चलिरहेको छ । दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएमा आजै अदालतको आदेश आउन सक्नेछ ।
दुवै तर्फका कानुन व्यवसायीको बहस बाँकीरहेमा भने भोलि शुक्रबार फेरि यहीँ विषयमा बहसले निरन्तरता पाउनेछ ।
पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए ।
यसअघि लामिछाने र पत्रकार युवराज कंडेलका तर्फबाट उनका कानुन व्यवसायीले दुई पटक र रुकु भन्ने अस्मिता कार्कीका कानुन व्यवसायीले एक पटक सुनुवाइ स्थगित गरेका थिए ।
चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका सञ्चारकर्मी लामिछाने र पत्रकार कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका थिए ।
त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कंडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अर्को निवेदन दिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।
यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो ।
निवेदनको प्रारम्भिक सुनुवाइको क्रममा मगाइएको प्रतिवेदन उच्च अदालत हेटौँडामा पुगेको छ ।










