बालविवाह न्यूनीकरण गर्ने पुरोहितलाई प्रशिक्षण

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १५:४८

काठमाडौं । प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटा जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको जनाएको छ ।

कर्णालीको १० वटा जिल्लाका पण्डित, लामा लगायतका झन्डै ५ सय ३९ धर्मगुरुलाई बाल विवाह बारे कानुनी कारबाही, विवाह गरेपछि उनीहरुले भोग्नुपर्ने समस्याबारे जानकारी गराउने उदेश्य सहित यो कार्यक्रम सञ्चालन गरिएको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।

पुरोहितलाई कानुनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने उनले बताए । प्रशिक्षण कार्यक्रममा बालविवाहको प्रमुख कारण र बालविवाहबाट हुने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा प्रजनन् स्वास्थ्य सम्बन्धी असरका बारेमा जानकारी दिइएको थियो ।

यसैगरी बालविवाहसम्बन्धी कानुनी व्यवस्था, बालविवाहबाट निम्तिने अन्य अपराधका बारेमा प्रशिक्षण दिइएको थियो । विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितहरुलाई यसका जोखिमबारे दिइएको प्रशिक्षणले बालविवाह न्यूनिकरणमा सघाउ पुग्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै भएकाले अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानुनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै नहुने र उनीहरुले भनेका कुरा गाउँका सर्वसाधरणले पनि विश्वास गर्ने भएकाले यो प्रशिक्षण दिएको जोशीले बताए ।

मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

कर्णाली प्रदेशका धेरै मानिसहरु शिक्षा र गरीबीको रेखामुनी छन् । कर्णालीका १० वटा जिल्लामध्ये सल्यान जिल्ला बढी प्रभावित छ । चालु आर्थिक वर्षमा मात्र बालविवाहको ३ वटा मुद्धा परिसकेको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा १९ वटा मुद्धा दर्ता भएको तथ्याङ्क छ । सुर्खेत र दैलेखमा सात÷सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।

बाल विवाह हुने मुलुकमध्ये दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा पर्दछ । पहिलो स्थानमा बंगलादेश र भारत छ ।

नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरीहरु किशोरअवस्थामा नै आमा बन्ने गरेका तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षमा मुलुकभरमा ८६ बालविवाहका घटना भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*