माधव नेपालको स्वास्थ्य सुध्रदै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा रहेको चिकित्सकले जनाएका छन् । अध्यक्ष नेपालको छातीमा संक्रमणका साथै रूघाखोकीको समस्या भएपछि मंगलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको हो । छातीरोग विशेषज्ञ डा.सन्तकुमार दास नेतृत्वको टोली उनकाे उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ । पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ । छातीको संक्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

