साँस्कृतिक अभियानका याेद्धा केशव अधिकारीलाई सम्झँदै नेकपा मकवानपुर
हेटाैँडा । नेकपा मकवानपुरले निरंकुश शासनदेखि गीत संगीत मार्फत् बामपन्थी आन्दाेलनलाई उचाइसम्म पुर्याउन याेगदान गर्नुहुने स्वर्गीय केशव बिक्रम अधिकारीकाे याेगदानकाे स्मरण गरेकाे छ ।
राष्ट्रिय जन साँस्कृतिक महासंघ मकवानपुर र नेपाल ट्रेड युनियन महासंघ मकवानपुरकाे आयाेजनामा १३ औँ दिनकाे पुण्य तिथिमा ‘सम्झनामा स्वर्गीय केशव विक्रम अधिकारी’ नामक भर्जुअल श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ ।
श्रद्धञ्जली कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिराेध खतिवडाले स्वर्गीय अधिकारी लगायत साँस्कृतिका याेद्धकाे याेगदानकाे कारण पार्टि आज यस स्थानमा पुगेकाे बताउनुभयाे । सांसद खतिवडाले पार्टीले स्वर्गीय अधिकारीकाे याेगदानकाे कदर गर्ने बताउनुभयाे ।

मेन्डाेलिन बजाउँदै केशव अधिकारी (कालाे ज्याकेटमा) । तश्बिर : आरआर चाैलागाई
वहाँकाे परिवारका तर्फबाट छाेरी दिपाले तात्कालिन नेकपा माले र एमाले पार्टीलाई बुबाले आफ्नाे घरलाई भन्दा बढि महत्व दिदै भूमिगत समयमा समेत पार्टीकाे बिचारलाई लिएर देशका कुना कन्दरामा साँस्कृितिक अभियान सन्चालन गर्दै हिड्नुभएकाे अवगद गराउँदै हाल पार्टीले बुबाकाे बारेमा चासाे नदिएकाे गुनासाे गर्नभयाे । टेलरिङ, बुटिक र साैन्दर्यकर्मी पेशा अंगालेकी दिपा आफु पनि बुवाले देखाएकाे प्रगतिशिल बाटाेमा तत्कालीन अनेरास्ववियूमा सक्रिय रहदै हाल भक्तपुरमा जिल्ला पार्टिसँग जाेडिएर कार्य गरिरहेकाे बताउनुभयाे ।
भाई पुरण बिक्रम अधिकारीले मार्क्सवाद र लेनीनवादकाे उच्च विचारले प्रेरित भएर साँस्कृतिक आन्दाेलनमा हाेमिनु भएका दाजुकाे याेगदानलाई पार्टीले कदर नगरेकाेमा चिन्ता व्यक्त गर्नुभयाे । उहाँले बजाएकाे मेन्डाेलीनलाई आफुले आजसम्म पनि निरन्तरता दिन सक्नुमा दाजुकाे प्रेरणा रहेकाे पुरनले बताउनुभयाे । स्वर्गीय केशवकाे लाेकप्रीय गीत ‘लाहुरे दाई घरकाे माया छैन तिमितलाई’ भाई पुरनले दाजुप्रति समर्पित गरेर गाउँदा सबैलाई भावुक बनाएकाे थियाे ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले केशव अधिकारी जस्ताकाे याेगदानले गरेर पार्टीलाई सधै जितिरहने स्थानमा पुर्याएकाे हाे । तर पनि त्यस्ता व्यक्तित्वहरुलाई पार्टी अनेक कुरामा अल्झेर नसम्झेका अवस्था हाे, अब यस्ताे अवस्था आउन नदिने अध्यक्ष सिग्देलले बताउनुभयाे। सरल, मृदुभाषि केशव अधिकारी जस्ता पार्टिका व्यक्तित्वहरुले बनाउने आन्दाेलनकाे जगमा पार्टी यहाँसम्म आइपुगेकाे भन्दै पार्टी अध्यक्ष सिग्देलले श्रद्धाञ्जली व्यक्त गर्नुभयाे ।

चुरेका जंगलमा थाकेका आफ्नाे टीमलाई केशव विक्रमकाे गीतले उर्जा पैदा गरेकाे जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सम्झनुभयाे । अनुशासित र मर्यादित व्यक्तित्व स्वर्गीय केशव अधिकारीलाई टिसिएनकाे मजदुर संगठन निर्माण देखिकाे याेगदान अनुकरणीय रहेकाे खुलालले बताउनुभयाे ।
संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम टमाेटले एकजना सांगीतीक क्षेत्रका इमान्दार कार्यकर्ता गुमाउन अपुरणीय क्षती भएकाे भन्दै उहाँकाे परिचय देशभरका साँस्कृतिककर्मीहरुकाे किताबमा उपस्थिति गराउने जानकारी दिनुभयाे ।
केशव अधिकारी केही नमाग्ने तर पार्टीलाई दिन मात्र चाहने एक लुकेकाे हिराकाे रुपमा पु्ष्कल श्रेष्ठले चित्रण गर्नुभयाे ।
आर आर चाैलागाईले केशव विक्रम एउटा साँस्कृतिक अभियन्ता रहेकाे जसले आफुलाई भन्दा बढि पार्टी र टिमलाई मनैदखि काँधमा बाेक्ने कुशल नेतृत्व रहेकाे स्मरण गर्दै वहाँकाे सम्झनामा कविता वाचन गर्नुभयाे ।
चिरन्जीवी थापाले २०४० सालदेखिकाे सम्वन्ध रहेका केशव दाइकाे जस्ताे पार्टिका अन्य क्षेत्रका कार्यकर्ताकाे अवस्था नहाेस भनि नेतृत्वलाई सचेत गराउनु भयाे ।
केशव दाइ मेन्डाेलिनकाे अग्रज बाद्यबादक रहेकाे भन्दै आशाकाजी श्रेष्ठले भाई पुरनमा त्याे क्षमता रहेकाेमा पार्टीले वहाँलाई चिन्नुपर्ने बताउनुभयाे ।
२०३९ सालतिर श्रमिक साँस्कृतिक टाेलीकाे अभियानका एक हुँदै आज जन साँस्कृतिक महासंघ सम्म आइपुगदा केशव अधिकारीकाे प्रगतिशिल देउसी तथा साँस्कृतिक प्रस्तुती अविष्मरणीय रहेकाे र वहाँकाे निधनले आफु भावुक भएकाे केशव दुवाडीले बताउनुभयाे । दुवाडीले राजनीतिलाई साँस्कृतिक आन्दाेलनले सहयाेग पुर्याउँछ भन्ने कुराेकाे थालनी गर्ने केशव अधिकारी अगुवा रहेकाे बताउनुभयाे ।

श्रद्धाञ्जली कार्यक्रममा नव श्रमिक साँस्कृतिक परिवार, श्रमिक साँस्कृतिक टाेली लगायतका संरचनामा आवद्ध केशव अधिकारीकाे याेगदानलाई उच्च मुल्यांकन गर्नुपर्ने धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठ, परिवारका सदस्यहरु दिदि याेगा भट्टराई, बुहारी निर्मला ब्लाेन, डिल्लिराम सुवेदी लाेकनाथ पाण्डे, लाल श्रेष्ठ, प्रलय चाैलागाई सुभाष खनाल लाल श्रेष्ठ मसान उपासक युक्तलाल विश्वकर्मा भावना सापकाेटा उदय श्रेष्ठ गाेमा गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।
२००३ साल चैत्र महिनामा बर्मा (हाल म्यानमार) काे चाैबिन्दा, मचिनामा जन्मिएर झापामा आउनुभएका स्व. अधिकारीले मकवानपुरलाई कर्मथलाे बनाउनु भएकाे थियाे । मकवानपुरकाे टिम्बर कर्पाेरेशन नेपालमा जागीरे जीवन विताउनु भएका स्वर्गीय केशवले आफ्नाे निवासलाई समेत संगठन विस्तार र रणनितीक याेजना निर्माण गर्न गाेप्य बैठक स्थल बनाउनु भएकाे थियाे । दम र फाेक्साे समस्याले पीडीत वहाँकाे २०७७ कार्तिक ६ गते साँझ नागरिक अस्पताल भक्तपुरमा उपचारकाे क्रममा निधन भएकाे हाे ।







