चितवनमा ओली समूहद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार (भिडियाे सहित )
चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद भौतिक हमला र दुर्व्यवहारमा रुपान्तरण हुन थालेको छ ।
शनिबार गृहजिल्ला चितवन पुगेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री ओलीको विरोध गरेको भन्दै ओली समूहका नेताहरुले दुर्व्यवहार गरेको छ । उनले चितवनमा आयोजिक एक कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने धारणा राख्दै थिए ।
चितवन पुगेका नेता पाण्डेले शुक्रबार पुर्वी चितवनका विभिन्न स्थानमा कार्यकर्ता भेलाको आयोजना गरेका थिए । कार्यक्रममा उनले पार्टीको सामूहिक निर्णय हुनुपर्नेमा त्यसो नभई ओलीको काम एकलौटी देखिएको बताए । यसरी सिङ्गो पार्टी एक्लै सञ्चालन गर्न खोज्नुले नै नेकपा समाप्तितर्फ गएको तर्क उनको थियो ।
पार्टीमा विधि र सामूहिकता हुनुपर्ने भए पनि त्यसो नभएका कारण पार्टी समाप्त हुने निश्चत रहेको पाण्डेले बताए । उनको भनाईबाट उग्र बनेका ओली समूहका नेता कार्यकर्ताले होहल्ला गर्दै कार्यक्रम स्थलबाट लखेट्ने प्रयास गरेका थिए ।
नेकपाकै नेता तथा कार्यकर्ताले गुटगत भेला गरेर प्रधानमन्त्रीलाई गाली गरेको भन्दै पाण्डेको विरोध गरेका हुन् । सामाजिक सञ्जालमा पार्टीको भेला भनेर पार्टी निर्माणमा योगदान दिएका अग्रज नेता तथा कार्यकर्ताबिना गुटगत भेला गरेको ओरोप उनीमाथि लगाइएकाे छ ।
शुक्रबारदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएका पाण्डेलाई शनिबार विरेन्द्रनगरको आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले शनिबार लखेटेको ओली समूहका एक नेताले दावी गरे ।
पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाएको भन्दै कार्यकर्ताले कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेको ओली समूहका नेता कार्यकर्ताले दावी गरे । मदन भण्डारीलाई चिनजान गराईदिने, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको, सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका तथ्यहिन आरोपमात्र नभई लज्जास्पद अभिव्यक्तिसमेत दिई जनता तथा कार्यकर्तालाई झुटा कुरा बोलेकाले पाण्डेलाई लखेट्न बाध्य भएको उनीहरुले स्पष्ट पारे ।
भिडिषाे श्राेत : एनबी टिभी
https://www.youtube.com/watch?v=MFm-UOn9ac4







