ओली प्रवृत्ति नेकपाको मात्रै नभएर देशकै समस्या हो : बाबुराम भट्टराई

निरन्तर न्यूज
९ मंसिर २०७७, मंगलवार ०८:०२

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति नेकपाको मात्रै समस्या नभएर देशकै समस्या भएको बताएका छन् ।

सोमबार साँझ एक ट्वीट सन्देशमार्फत् डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले व्यक्ति ओली आफूलाई पनि एकदमै मन पर्ने मान्छे भए पनि समस्या व्यक्ति ओलीमा भन्दा ओली प्रवृत्तिमा रहेको टिप्पणी गरेका छन् ।

‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो,’ उनले भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो ।’

उनले ओली प्रवृत्तिलाई अग्रगनमको मुख्य बाधक शक्ति भएको टिप्पणी गरेका छन् । ‘ओली प्रवृत्ति अग्रगमनको मुख्य वाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन ।कुनैपनि वहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं,’ डा. भट्टराईले भनेका छन् ।

सोमबार बिहान डा. भट्टराईले ओलीलाई संकेत गर्दै उनले माओवादी/मधेसवादीलाई फालेर हिरो बनेको टिप्पणी गरेका थिए । ‘हाम्रो राष्ट्रिय विमर्शमा यी दुई कुरा खै ? १. समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभङ्गता ? विश्व इतिहाससिद्ध तथ्य भन्छ- निरन्तरतामा क्रमभङ्गता ! अर्थात् आवधिक रचनात्मक ध्वंस,’ उनले लेखेका छन्, ‘हामीकहाॅ चैं जनयुद्ध, मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता, विद्वान कहलिन्छ ! अनि देश बन्छ ?’

भट्टराईको प्रश्न छ, ‘इतिहास भन्छ- क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयाॅ संरचना संस्थागत हुन्छन र देश बन्छ । हामीकहाँ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले १८ महिनामा फाले । पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई ९ महिनामा ओलीले फाले र हिरो बने ! अनि देश बन्छ ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*